व्यवस्थापकीय अपराधका कारण राष्ट्रिय वायुसेवा कम्पनीको मात्रै होइन, मुलुककै साख गिर्दो
हल्का धुम्मिएको आकाशबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नयाँ जहाज अवतरण गर्यो, १४ असार ०७५, बिहान साढे ८ बजे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन सचिव र नेपाल वायुसेवा निगमका पदाधिकारी लहरै उभिएर नयाँ जहाजको स्वागत गरे । विमानको सजधजका लागि पानीको फोहोरादेखि फूलमाला तयार थिए । इन्जिनको पूजापाठ गरियो । तालुकदार मन्त्री अधिकारीले भने, “नेपाल एयरलाइन्सले मात्र होइन कि देशले नै खुसी मनाइरहेको अवस्था हो, किनभने एयरबसको वाइडबडी हाम्रो एयरपोर्टमा अवतरण गरेको छ ।”
उड्डयनमन्त्रीले मीठा–मीठा विशेषणका फुँदा जोडेर राष्ट्रिय खुसीका रूपमा चित्रण गरेको २ वटा वाइडबडी विमानका कारण निगम गम्भीर संकटमा धकेलिएकोतर्फ भने त्यसबेला कमैले ध्यान दिए ।






