Tuesday, August 27, 2019

ठूलाको मेल, सानालाई जेल

संगठित अपराधमा आदेशकर्तालाई उन्मुक्ति, आदेशपालकलाई सजाय दिने डरलाग्दो न्याय प्रणाली


‘यति राम्ररी गाडी चलाउने चालक पनि रहेछ ।’ हाकिमको प्रशंसाले पुलकित भए सोवितबहादुर कार्की । एउटै जिल्लाबासी भएकाले स्वाभाविक रूपमा दुवै नजिकिए । झन्डै डेढ वर्ष रविराज श्रेष्ठलाई हुइँक्याए कार्कीले ०६५ र ०६६ मा ।  दुवै महानगरीय ट्राफिक प्रहरी महाशाखामा थिए ।

 १० कात्तिक ०६६ मा प्रहरी उपरीक्षक (एसपी) श्रेष्ठको सरुवा भयो । जिल्लाबासीको नाताले दुवैबीच कुराकानी चलिरहन्थ्यो । सोलुखुम्बु डोरफुका एसएसपी र तिङ्लाका हवल्दार । “आफ्नै जिल्लाको मानिस त्यत्रो ठूलो पदमा भएकाले मलाई पनि केही संरक्षण होला भन्ठानेँ,” कार्की सुनाउँछन् ।

तीन वर्षपछि दुवै फेरि जोडिए, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा । श्रेष्ठको एक तह बढुवा भइसकेको थियो, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा । तीन वर्षपछि एकै थलोमा जुटेको जिम्मेवारीले तीन महिनामै अकल्पनीय मोड लियो ।


१९ कात्तिक ०६९ ।


साँझ ७ बजे अज्ञात व्यक्तिले विमानस्थलको कन्ट्रोल रूममा फोन गरेर फ्लाई दुबईको विमानमा बम राखिएको खबर चुहाइदिए । खैलाबैलालगत्तै परिचालित सुरक्षाकर्मीले विमानबाट १ करोड २४ लाख रुपैयाँ बराबरको विभिन्न मुलुकका अवैध मुद्रा बरामद गरे । त्यसबेला ९ मुलुकको अवैध मुद्रा भारतीय नागरिक विनोदकुमार सोनीबाट फेला परेका थिए ।

संवेदनशील क्षेत्रमा खटिएका प्रहरीका यी दुई उपल्ला र कनिष्ठ कर्मचारीको संलग्नतामा अवैध मुद्रा ओसारपसार भएको अपुष्ट खबर संगठनभित्रै फिँजियो । अवैध कृत्यमा संलग्न ठानिएका यी दुई भोलिपल्ट भने सधैँझैँ पवित्र धाम मानिने पशुपति परिसरतिर ‘मर्निङ वाक’ मा निस्किए । किराँतेश्वर वनमा पुगेपछि श्रेष्ठले कार्कीलाई ‘एक–दुई दिन बाहिर बस्न’ सुझाए । “हाकिमले केस मिलाउँछु भनेपछि सोहीअनुसार म भारततिर गएँ,” कार्की भन्छन् । त्यतिबेलासम्म कार्की आफ्नै संगठनको ‘फरार’ सूचीमा चढिसकेका थिए । खर्च अभावले भारतमा लुक्न नसकेपछि नेपाल फर्किएका कार्कीलाई विराटनगरबाट २४ पुस ०६९ मा प्रहरीले पक्राउ गर्‍यो ।

घटनालगत्तै दुवै निलम्बनमा परे । अतिरिक्त महानिरीक्षक (एआईजी) भीष्म प्रसाईं संयोजकत्वको छानबिन समिति बन्यो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेर मुद्दा अदालत पुर्‍यायो । अदालतमा पुगेपछि विकसित घटनाक्रमले भने हाम्रो न्याय प्रणालीका भ्वाङ देखाइदियो ।

निरीह नै दोषी
घटनालगत्तै छानबिनका लागि प्रहरी मुख्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालयका नायब महानिरीक्षक (डीआईजी) परशुराम खत्रीको नेतृत्वमा अर्को समिति बनाएको थियो । समितिले आयुक्त कार्यालयको गुप्तचरी प्रतिवेदनलाई उद्धृत गर्दै ‘घटना हुनुमा उपल्लो दर्जाका प्रहरी अधिकृतको संरक्षण र मार्ग्निर्देशन भएको’ उल्लेख गरेको थियो । प्रसाईं छानबिन समितिले यसको विस्तृत जालो केलाएको थियो, जसमा एसएसपी श्रेष्ठ, हवल्दार कार्कीले अवैध कारोबारीलाई सघाएको किटान गरिएको छ । यी दुई प्रहरीले सोनी, राजेशकुमार अग्रवाल, मुरारीलाल गोयल (जमाली) लगायतका अन्य कारोबारीसँग अस्वाभाविक सम्पर्क गरेको स्थापित गरिदिएको थियो । समितिले फोन सम्पर्क, एसएमएस आदानप्रदानलाई केन्द्रमा राखेर अनुसन्धान गरेको थियो ।

सीआईबीले घटनामा संलग्नताको आरोपमा एसएसपी श्रेष्ठ, हवल्दार कार्की, सोनी, अग्रवाल, गोयल (जमालिया) विरुद्ध मुद्दा दायर गर्‍यो । सुरुमा श्रेष्ठलाई प्रतिवादी नबनाएको सीआईबीले सबुद भेटिएपछि छुट्टै मुद्दा चलाएको थियो । २१ कात्तिक ०६९ मा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा २३ भदौ ०७२ मा फैसला भयो । दीपेन्द्र अधिकारीको एकल इजलासको फैसलाले हवल्दार कार्कीलाई दोषी ठहर्‍याउँदै तीन वर्ष कैद र साढे २ करोड रुपैयाँ बिगो सजाय सुनायो भने एसएसपी श्रेष्ठलाई निर्दोष करार गरिदियो ।

हवल्दार कार्कीले अदालतमा दिएको बयानअनुसार एसएसपी श्रेष्ठले अह्राएबमोजिम सामान बोकेका हुन् । ‘एसएसपी रविराज श्रेष्ठ सरले भन्नुभएकाले पनि विश्वास गरी सो झोला सोनीलाई दिएको हो,’ कार्कीको बयानमा छ । राजेश अग्रवालले कार्कीलाई ज्ञानेश्वरमा किताबको झोला थमाउँदै बेलुका विमानस्थलमा आउने सोनीलाई दिनू भनेका थिए । सोही सामान बेलुका प्रहरीले बरामद गरेको हो ।

यति मात्र होइन, त्यसअघि केही पटक श्रेष्ठको आदेशमा सामान पास गराइदिएको कार्कीको बयानमा उल्लेख छ । अग्रवालसँग एसएपी श्रेष्ठले चिनाइदिएको कार्कीले बयानमा खुलाएका छन् । उनले अनुसन्धानकर्मीलाई समेत सोही बेहोरा बताएका थिए । “मलाई त्यसअघि पनि एसएपीले सामान ल्याउन भन्थे । जान्थेँ । त्यस दिनचाहिँ मनमा चिसो पसेको थियो । जान्नँ भनेको पनि हो, तर कर गरेपछि गइयो,” कार्कीले नेपालसँग भने । विमानस्थलमै कार्यरत प्रहरी सहायक निरीक्षक हिराकाजी कुमालले १९ कात्तिक बिहानै श्रेष्ठले आफूलाई किताबको प्याकेट थमाएर एक व्यक्तिलाई दिन अह्राएको प्रसाईं समितिसामु खुलासा गरेका थिए । कतार वाल गल्फ एयरवेजबाट उक्त सामान दुबई पुगेको प्रसाईं समितिको प्रतिवेदनमा उल्लेख छ ।

एसएसपी श्रेष्ठले भने आफ्नो संलग्नता अनुसन्धानकर्मी र अदालतसमक्ष अस्वीकार गरेका छन् । पाटन उच्च अदालतले समेत २४ फागुन ०७३ मा जिल्लाकै फैसला सदर गरिदियो, कार्कीको तीन वर्षको सजायलाई दुई वर्षमा घटाउनुसिवाय ।

फैसलामा शंका
‘युक्तियुत्त, स्वतन्त्र र विश्वसनीय आधार प्रमाण अभियोजनले पुष्टि गर्न नसकेकाले श्रेष्ठले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’ एसएपी श्रेष्ठले कार्कीलाई सामान पास गर्न अह्राएकोबारे फैसला गर्दै जिल्ला अदालतले भनेको छ । साथै कल डिटेल्स अनुसन्धान गर्ने निकायको मागअनुसार नभएको, सम्पर्क भएको आधारमा मात्रै आरोप स्थापित हुन नसक्नेसमेत फैसलामा उल्लेख छ ।

यही कुरालाई उच्च अदालतले अनुमोदन गर्दै थप व्याख्यासमेत गरिदिएको छ । उच्च ओहोदाकाले भनेको मान्नुपर्ने प्रहरी अनुशासनको संस्कारअनुसार हवल्दार कार्कीले एसएपी श्रेष्ठको आदेश मानेकालाई उच्च अदालतले मनोगत भनेको छ । प्रसाईं समितिको प्रतिवेदन प्रहरीको आन्तरिक प्रयोजनका लागि मात्र भएकाले प्रमाणको रूपमा स्वीकार्न नमिल्ने फैसलामा उल्लेख छ । ‘असल नियतले गरेको सम्पर्कलाई कसुरको दायरामा ल्याउन मिल्दैन,’ फैसलामा लेखिएको छ ।

जबकि प्रसाईं समितिले सुरक्षाकर्मीको नियतलाई छर्लंग पारिदिएको थियो । एसएसपी श्रेष्ठ गोप्य नम्बर बोक्थे, जसको सम्पर्क कारोबारमा संलग्नहरूसँग मात्र देखिन्छ । प्रहरी कर्मचारी सोममाया पाख्रिनको नाममा निकालिएको नम्बर श्रेष्ठले प्रयोग गर्थे । यो कुरा उनले छानबिन समितिसँग पनि स्वीकारेका छन् ।

पाख्रिनले एनसेलका दुइटा नम्बर निकालेकी थिइन्, जसमध्ये एउटा रविराजले बोक्थे भने अर्को आफैँ चलाउँथिन् । घटनापछि श्रेष्ठले २५ असोजमा बन्द गर्न आदेश दिएपछि पाख्रिनले आफूले चलाउने नम्बर पनि फालिदिइन् । श्रेष्ठले चलाउने नम्बर सहायक निरीक्षक हिराकाजी कुमालमार्फत नष्ट गरिदिए, २६ असोजमा । यी नम्बर नष्ट गर्नुले पनि श्रेष्ठको नियत छर्लंग हुन्छ । स्मरणीय छ, घटनापछि ९ वटा नम्बर एकाएक बन्द गरिए, जसमा राजेश अग्रवालको नम्बर पनि थियो ।

जहाजमा खतराको सूचना पुग्नुअघि सोही दिन एसएसपी श्रेष्ठ र राजेश अग्रवालबीच आठ पटक सम्पर्क भएको थियो भने सूचनापछि ६ पटक । श्रेष्ठले भने आफूले अग्रवाललाई नचिन्ने दाबी गरे । उनले भने, “मेरो फोन कहिलेकाहीँ केटाहरू (प्रहरी) ले चलाउँथे । उनीहरूले नै फोन गरेका होलान् ।” तर कार्कीसँग पनि एसएसपी श्रेष्ठको बाक्लै कुराकानी भएको खुल्छ । अग्रवाललाई जिल्ला अदालतले समेत दोषी मानेर ३ वर्ष कैद र साढे २ करोड रुपैयाँसहितको सजाय सुनाएको छ । आफ्नै कर्मचारी भएकाले कार्कीसँगको सम्पर्कलाई स्वाभाविक मान्न सकिएला, तर अग्रवालसँग घटनाको सेरोफेरोमा लगातार एसएसपी श्रेष्ठको सम्पर्क किन भयो ? न्याय निरुपण गर्दा अदालतले प्रश्न गर्ने जरुरी ठानेन । फलतः आफैँले दोषी प्रमाणित गरिदिएको अग्रवालसँग अस्वाभाविक सम्पर्क गर्ने श्रेष्ठ अदालतको आँखामा कसिंगर धरी ठहरिएनन् ।

श्रेष्ठ उनै व्यक्ति हुन्, जसको सम्बन्ध विमल पोद्दार, पवन अग्रवालसँग समेत देखिएको थियो । पोद्दार तस्कर समूहबाटै गायब ३३ किलो सुनकाण्डमा समेत मुछिएका व्यक्ति हुन् । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले पोद्दारलाई गत असारमा पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी सुन तस्करी र हुन्डी कारोबारी भएको समितिको दाबी छ । अग्रवाल ०६८ मा १ करोड ७२ लाख रुपैयाँसहित पक्राउ परेका थिए । यो रकम हुन्डीमार्फत चीन पठाउन ठिक्क पारिएको थियो । श्रेष्ठको सम्पर्क कुन नियतले अवैध कारोबारीसँग भयो भन्ने बुझ्न यी घटनाले पनि सघाउँछ ।

जागिर पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा परेको रिटमा त एसएसपी श्रेष्ठले तलब तथा निवृत्तिभरण पाउने फैसला गरिदियो । २० कात्तिक ०७४ मा प्रधानन्यायाधीश गोपाल पराजुली र बमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो । फलतः अह्राउनेले उन्मुक्ति पाए, आदेश पालकको भने बिजोग भएको छ ।

थाप्लोमा ऋण
बिगो तिर्न सकेको भए हवल्दार कार्की जिल्ला अदालतले फैसला सुनाएपछि जेलमुक्त भइसकेका हुन्थे । किनभने त्यतिन्जेल उनको सजाय भुक्तान भइसक्थ्यो । तर साढे २ करोड बिगो बुझाउन नसक्दा सट्टामा थप ४ वर्ष कैद हुनुपर्‍यो । “एक लाख त तिर्ने हैसियत छैन, कहाँबाट त्यत्रो रकम ल्याउनू ?” उनी भन्छन् । आफूलाई एसएसपीले फसाएको ठान्छन्, कार्की ।

घटना कसैले उप्कायो भने उनका आँसु थामिनै सक्दैन । थामियोस् पनि कसरी ! यही घटनाको पिरलोले आमा बितिन् । वृद्ध आमालाई तीन वर्षसम्म छोरो जेल परेको कुरा लुकाएको थियो, परिवारले । ०७२ मा काठमाडौँदेखि गएका नातेदारले नै सुनाइदिएपछि उदयपुर बस्ने ७४ वर्षीया आमा पासो लागेर मरिन् । “योभन्दा दर्दनाक अरू के हुन सक्छ ?” गहभरि आँसु बनाउँदै कार्की भन्छन् । मुद्दामामिला गर्दागर्दै तिङ्लाको पुर्ख्यौली सम्पत्ति २ लाख ८० हजार रुपैयाँमा बेचे । त्यसले पनि नधानेपछि उनको थाप्लामा ऋणले किचेको छ ।

जेल भुक्तान गरेर गत माघमा मात्रै उनी रिहा भए । अहिले काठमाडौँमै माइक्रो बस चलाएर जीविका धानिरहेका छन् । उनी भन्छन्, “साँचो बोलेमा न्याय पाइन्छ भन्ने लागेर जे हो, त्यही भनिदिएँ । तर झुटो बोल्नेहरू उम्किए, मचाहिँ फसेँ ।”

सुनकाण्डको शृंखला
अवैध विदेशी मुद्राको नाभि सुन तस्करीसँग जोडिएको थियो । नेपालबाट विदेशी मुद्रा लैजाने र दुबईबाट अवैध सुन नेपाल भित्र्याउन यो समूह सक्रिय थियो । समूहमा परोक्षरअपरोक्ष रूपमा यी दुई प्रहरीको संलग्नता थियो । पहुँचदार एसएसपी सहजै उम्किए भने हवल्दार कसुरदार ठहरिए ।

सुन तस्करीमा संलग्न प्रभुत्वशाली कानुनी दफा समातेरै उम्कने र तल्लो तहकाले कारबाही भोग्नुपर्ने पुरानै प्रवृत्ति हो । विसं ४० र ५० को दशकमा नेपालमा सबैभन्दा बढी सुन तस्करी भएको इतिहास छ । त्यसबखत राज्य संयन्त्र नै तस्करीका सहयोगी थिए । सत्ता फेरबदलसम्म सुन तस्करी जोडिएको थियो । तर कोही प्रभुत्वशाली कारबाहीमा परेनन् ।

६० को दशक सुरुमा कम भएको सुन तस्करी उत्तरार्द्धतिर पुनः मौलाउन थाल्यो । त्यही बेला एसएसपी श्रेष्ठ जोडिएको अवैध विदेशी मुद्रा काण्ड देखापरेको हो । त्यसपछि त सुन तस्करीका एकपछि अर्का घटना सार्वजनिक हुन थाले । तर गिरोहको जरो खोतल्न प्रहरी असफल बन्दै गयो । तल्लो तहका कारबाहीमा पर्ने र उपल्लो तहका उम्किने क्रम रहिरह्यो ।

जस्तो, ३ असार ०७० मा एकाबिहानै काठमाडौँ कोटेश्वरबाट ३५ किलो सुनसहित सिन्धुपाल्चोक तातोपानीका ट्रक चालक निमा छिरिङ लामा पक्राउ परे । लगत्तै प्रहरीले सुनधनी मोहन अग्रवाल, ग्याम्जो लामा र ट्रकधनी ओमबहादुर वज्राचार्यलाई समात्यो ।

चारै जनालाई राजस्व अनुसन्धान विभागले प्रतिव्यक्ति ३ करोड ७८ लाख रुपैयाँ धरौटी माग्यो । धरौटी नतिर्दा चारै जना जेल परे । सुन मालिक र ट्रक मालिक राजस्व न्यायाधीकरण पुगे, पुनरावेदनका लागि । न्यायाधीकरणले ग्याम्जोलाई साधारण तारेखमा छाड्न भन्यो भने अग्रवाल र वज्राचार्यको निर्णय सदर गरिदियो । अग्रवाल र वज्राचार्यले न्यायाधीकरणको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारेपछि आफू अनुकूल फैसला आयो । अग्रवाल साधारण तारेखमा छुटे भने वज्राचार्यले १ लाख रुपैयाँ धरौटी बुझाए हुने फैसला भयो । तर चालक निमाले पुनरावेदन दिने हैसियत नै राखेनन् र जेल बस्नुपर्‍यो ।

गिरोहका प्रभुत्वशाली व्यक्ति न्यायालयबाट उम्कने क्रम नरोकिएपछि प्रहरीले ०७१ देखि संगठित अपराधमा मुद्दा चलाउन थाल्यो । पुस र माघमा प्रहरीले १४ जनाको तस्कर गिरोह फेला पार्‍यो । त्यसमा लगानीकर्ता, लगानीकर्ताका लागि काम गर्ने मध्यस्थकर्ता र भरियाको तहगत सम्बन्ध खुलाइएको थियो । तर सरकारी वकिलको कार्यालयले ‘वस्तुनिष्ठ प्रमाण अभाव’ देखाएर ०७२ भूकम्पको मौका छोपेर मुद्दा दर्ता नगरी फिर्ता पठाइदियो । लगत्तै लगानीकर्तात्रय सावरलाल जोधानी, जो फरारै थिए, आकाशकुमार वज्राचार्य र बालकृष्ण अग्रवालसहित सबै मुक्त भए ।

पुस ०७३ मा दुबईबाट भित्रिएको साढे ३३ किलो सुन तस्करीको कथा पनि उस्तै छ । भन्सार कर्मचारी र प्रहरीका उच्च अधिकारी मुछिएको घटनामा गाडी चालक जेल चलान भए भने सुन पास गराउने धरौटीमा छुटे । दुबईमा बसेर तस्करी सञ्चालन गर्ने गुप्तलाल भुसाललाई इन्टरपोलमार्फत नेपाल ल्याइए पनि न्यायालयले उन्मुक्ति दियो । २६ कात्तिक ०७४ मा काठमाडौँ जिल्ला अदालतले भुसालले सुन पठाएको ‘प्रत्यक्ष प्रमाण’ नभेटिएको भन्दै धरौटीमा छाड्यो । सोही प्रकरणमा मुछिएका विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्रीलाई पाटन उच्च अदालतले धरौटीमा छाडिदियो । खत्री उनै प्रहरी अधिकृत हुन्, जो पछि तस्कर समूहबाटै गायब ३३ किलो सुनकाण्डमा पक्राउ परे ।

गायब सुनकाण्डमा अवकाशप्राप्त र बहालवाला आधा दर्जन प्रहरी समातिएका थिए । खत्रीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी विकासराज खनालसहितका प्रहरी समातिएका थिए । तस्करीको सुन पास गराउने उनीहरूले सहजीकरण गरेका थिए, जो धरौटीमा छुटिसकेका छन् । दुई वर्षअघि ठमेलमा गाडीबाट बरामद ८८ किलो सुन मुद्दाले पनि न्यायालय पुग्दा उही नियति बेहोर्नुपर्‍यो । गाडी चालक मनोज अधिकारी, दम्बा सान्डु तामाङ र दिलीप खड्कालाई जेल चलान गरेको काठमाडौँ जिल्ला अदालतले तस्करीको सुन पसलबाट बेच्ने व्यापारी शुभरत्न शाक्य, गणेशदत्त बडु र सत्यनारायण अग्रवाललाई भने धरौटीमा छाडिदियो । ४३ करोड रुपैयाँ बराबरको उक्त सुन कारोबारमा चिनियाँ नागरिक पनि संलग्न थिए, जो फरार छन् ।

जिम्मेवारी बाँडफाँट गरेरै संगठित तबरमा हुने सुन तस्करीका सञ्चालकले उन्मुक्ति पाउने र भरियाले मात्रै सजाय पाउने निरन्तरको सिलसिला देखिन्छ । संगठित अपराधका ज्ञाता अधिवक्ता सुवास आचार्यका अनुसार यस्ता प्रकृतिका अपराधमा प्रत्येकको भूमिका निश्चित गरिएको हुन्छ र एकले अर्कालाई चिन्दैनन्, जसले सायदै सबुद भेट्टाउन सकिन्छ । त्यसैले प्रमाणका आधारमा उनीहरूबीचको ‘लिंक’ लाई नै अभियोगको मुख्य आधार बनाइन्छ ।

यही आधारलाई न्यायालयले प्रधान नमान्दा एसएसपी श्रेष्ठ र हवल्दार कार्कीको नियतरनियति बल्झिरहेछ, हाम्रो न्याय प्रणालीमा । यस्तो न्यायिक दृष्टि रहुन्जेल न्याय दिने चीज मात्र होइन, महसुस गर्नुपर्छ भन्ने प्रचलित भनाइलाई प्रत्येक सुनकाण्डले सम्झाइरहनेछ ।

प्रकाशितः असार ४, २०७६



No comments:

Post a Comment