क्याभलरी गणमा ८ वर्षदेखि व्यापारिक घरानाको 'कुँवर साप'
२१ फाल्गुन २०७६, काठमाडौं
चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी आफ्नो घोडचढी सोखलाई पहिलो प्रेमसँग तुलना गर्दै भन्दै थिए, “पहिलो प्रेम हत्तपत्त मानिसले खोल्दैन । घोडचढी पनि मेरो पहिलो प्रेम हो । त्यसैले रहस्यमै राख्न चाहन्छु ।” उनले घोडचढीलाई रहस्यमै राख्नुको कारण भने अर्कै छ ।
खासमा चौधरीले आफ्नो यो महँगो सोख पूरा गर्न नेपाली सेनालाई उपयोग गरिरहेका छन्, नौ वर्षदेखि
। सेनामा घोडासम्बन्धी हेर्ने छुट्टै क्याभलरी गण छ । गणतन्त्र स्थापनापछि सिंहदरबारबाट नारायणहिटी दरबार परिसरमा सरेको यही गणमा सेनाका अन्य घोडासँगै चौधरी घरानाको ‘कुँवर साप’ नामक घोडाको बासस्थान आरक्षित छ । यद्यपि सुरुको भेटमा आफ्नो जग्गामै घोडा पालेको चौधरीले दाबी गरेका थिए । पछि टेलिफोन कुराकानीमा भने चौधरीले क्याभलरी गणमा आफ्नो घोडा रहेको स्वीकारे । “यस विषयमा किन यति चासो रु” चौधरीले प्रतिप्रश्न गरे, “सैनिक गणमा घोडा राख्नु मेरो सोखकै पाटो हो । नितान्त व्यक्तिगत कुरा भएकाले मलाई धेरै बोल्नु छैन ।”सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार उक्त घोडा ०६९ सालदेखि गणमा राखिएको हो ।चौधरीले चाहिँ ९/१० वर्षदेखि आफ्नो घोडा सैनिक गणमा राखिएको बताए । “९र१० वर्षदेखि नै मैले घोडा त्यहाँ राखेको हुँ,” उनले टेलिफोनमा भने, “अहिले आएर किन यो कुरा उठाउँदै हुनुहुन्छ, बुझिनँ ।”
खर्बपति विनोद चौधरीका कान्छा भाइ अरुणका छोरा हुन्, करण । उनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्षसमेत छन् । सेनाका थुप्रै अधिकारीसँग करणको सम्बन्ध रहेको उनको फेसबुकमा अपलोड गतिविधिले छर्लंग पार्छ । उच्च सैनिक अधिकारीसँग विभिन्न समारोह, पार्टी र सेनाका कार्यक्रममा सहभागी भएका तस्बिर राखेका छन् । नेपालले सम्पर्क गरेका एक दर्जन अधिकारीले चौधरीको घोडा क्याभलरी गणमा पालिएको ‘ओपन सेक्रेट’ भएको बताए र त्यसलाई अनधिकृत माने । तर कसैले पनि त्यसबारे सार्वजनिक टिप्पणी गर्न चाहेनन् ।
हरेक बिहान गणमै पुगेर परेडमा समेत सहभागी हुन्छन्, करण । यसको पुष्टि सैनिक प्रवक्ता पाण्डेले समेत गरे । ‘घोडचढीको हाम्रो बिहानको परेडमा उनी पनि सधैँ हुने रहेछन्,” पाण्डे भन्छन् । तर घोडा गणले पाल्नेबारे भने उनले पनि सुरुमा आश्चर्य प्रकट गरेका थिए । भन्छन्, “त्यस्तो हो र रु उनीहरू ९घोडचढी संघ० ले आयोजना गर्ने कार्यक्रममा हाम्रै घोडा लैजान्छन् । यस्तो नहुनुपर्ने ।”
जंगी अड्डाले उपलब्ध गराएको तथ्यांकअनुसार गणमा घोडचढी, रथारोहणलगायतका लागि १ सय ७ घोडा छन् । ती घोडाका हेरालु सैनिक जनशक्तिको दरबन्दी ४६ छ, जसलाई ‘सइस’ भनिन्छ । यसमध्ये ठूला घोडा ५६ वटा छन् । चौधरीको घोडा ठूलोमध्येमा पर्छ । एउटा ठूलो घोडाको रासनमा मात्रै दैनिक ५ सय १७ रुपैयाँ खर्च हुने सैनिक प्रवक्ता पाण्डेले बताए । त्यस हिसाबले वार्षिक रासनमा प्रतिघोडा करिब दुई लाख रुपैयाँ खर्च हुन्छ । यसबाहेक औषधोपचार, तालिमलगायतको खर्च छँदै छ ।
तर उक्त खर्च सेनाले नबेहोर्ने सैनिक प्रवक्ता पाण्डेले बताए । चौधरीले पनि आफूले खर्च बेहोरेर नै घोडा पाल्न दिएको दाबी गरे । घोडाको रासन, औषधोपचारबाहेक घोडा हेर्ने सैनिकलाई समेत छुट्टै खर्च दिने गरेको चौधरीले नेपालसँग बताए । सैनिक क्याभलरीमा हुने रकम खुलाउन भने चौधरी राजी भएनन् । “त्यहाँ त मैले पैसा तिरेर नै राखेको हो । कसैले मलाई गुन लगाएको होइन,” उनले भने । यसबारे विस्तृत भन्न चाहिनँ ।”
जंगी अड्डा र चौधरीको भनाइसमेत आपसमा बाझिन्छ । सैनिक प्रवक्ता पाण्डेले नेपाल घोडचढी संघको अनुरोधमा घोडा सेनाले राखिदिएको बताए । “अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिनका लागि नेपाल घोडचढी संघको सहयोग चाहिन्छ,” पाण्डेले भने, “ती प्रतिस्पर्धामा भाग लिन सघाउने हुँदा हाम्रा घोडचढी सैनिकको क्षमता अभिवृद्धि हुने भएकाले संघको घोडा राखिएको हो ।”
तर उक्त घोडा पाण्डेले भनेजस्तो संघको नभई चौधरीको निजी हो । चौधरीले पनि उक्त घोडा आफ्नो भएको पुष्टि गरे । संघका अध्यक्ष रवि राजकर्णिकारले संघको घोडा नै नभएको जानकारी दिए । उनले भने, “हाम्रो घोडा नै छैन । कसरी सेनाको क्याभलरीमा राख्नु ?” बरु सेनाको क्याभलरी गणका सैनिकको सहयोगमा संघले घोडचढी खेलकुद प्रतिस्पर्धा भने आयोजना गर्ने उनले बताए । “बाहिर जनशक्ति छैन । त्यसैले सेनाको प्राविधिकदेखि घोडासम्मको सहयोगमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ,” राजकर्णिकारले थपे ।
सैनिक क्याभलरीमा सर्वसाधारणको घोडा लगेर राख्नु नै अनुचित मानिन्छ । पूर्वरथी नेपालभूषण चन्दका अनुसार घोडा सेनाका लागि हतियार, जनशक्ति, सवारी साधन सबथोक हो । सिपाहीसरह घोडालाई सरकारी स्केलको रासन, औषधोपचारको व्यवस्था हुन्छ । “त्यस्तो ठाउँमा निजी घोडा लगेर पाल्ने कल्पनै गर्न सकिँदैन,” उनले भने । घोडाको हेरचाहमा एकदमै बढी खटिनुपर्ने र खानामा समेत बढी खर्च हुने भएकाले त्यस्ता हैरानीलाई संकेत गर्दै ‘घोडा बेचेर सुतेको’ भन्ने उखान प्रचलित छ । तर यस्तो दुस्ख बेसाउने जिम्मा भने चौधरीले सेनालाई छाडिदिएका छन्, ‘रकम’ तिरेर ।
युद्धमा घोडालाई महत्त्वपूर्ण अंग मानिन्छ । प्राचीन कालदेखि नै घोडालाई विभिन्न युद्धमा प्रयोग गरिँदै आएको छ । सैनिक र उसका लागि बन्दोबस्तीका सामान ओसार्नेदेखि रणभूमिमा लड्नसमेत घोडालाई प्रयोग गरिन्थ्यो । घोडासहितको सेनालाई अश्वसेना भनिन्छ । नेपाली सेनाको वेबसाइटमा चाँगुनारायणमा भएको अभिलेखलाई उद्धृत गर्दै पाँचौँ शताब्दीदेखि नै नेपालमा अश्वसेना रहेको उल्लेख छ । १६ औँ शताब्दीमा पाल्पाली राजा मुकुन्द सेनले ‘नेपाल’ माथि आक्रमण गर्दा ठूलो संख्याका अश्वसेना खटिएका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा भने अश्वसेनाको अभाव रहेको र जंगबहादुर राणाको पालामा अश्वफौज पुनस् ब्युँताइएको सैनिक वेबसाइटमा उल्लेख छ ।
त्यसयता नेपाली सेनामा अश्वसेना अविच्छिन्न रूपमा रहँदै आएको छ । ऐतिहासिक तथ्यले पनि घोडचढी सैनिकको महत्त्व दर्शाउँछ । “सेनाको यति महत्त्वपूर्ण अंगमा निजी घोडा पाल्दा त्यसले रोग फैलाउने जोखिम रहन्छ,” पूर्वरथी चन्द भन्छन्, “त्यसैले बाहिरको जन्तुबाट यसलाई टाढै राखिन्छ ।”
सैनिक क्याभलरी गणमा करण चौधरीको घोडा । |
जस्तोसुकै विपद्का बेला पनि मुलुकको अन्तिम प्रतिरक्षा शक्ति सेनालाई कामयावी बनाउनसमेत आधुनिक कालमा पनि घोडचढी सेना राखिएको पूर्वरथी चन्दको भनाइ छ । बाढीपहिरो गएर आवतजावत बन्द भएका बेला अहिले पनि घोडचढी सेना बाटो खुलाउन प्रयोग हुन्छ । यसबाहेक विभिन्न समारोह, पर्वमा समेत अश्वसेनालाई प्रयोग गरिन्छ । त्यसबाहेक घोडचढी खेल प्रतियोगितामा पनि यो सेना उतारिन्छ ।
सैनिक प्रवक्ता पाण्डे भने घोडचढी गर्ने सैनिकको क्षमता विस्तार र नागरिक–सैनिक सम्बन्ध सुदृढ तुल्याउन बाहिरको घोडा राखिएको तर्क गर्छन् । तर पाण्डेको यो तर्क पनि पुष्टि हुने आधार छैन किनकि सेनाको कार्यप्रकृति नै ब्यारेकमा बस्ने भएकाले यो संगठन हम्मेसी नागरिक सम्पर्कबाट टाढै रहन्छ । “नेपाल सरकारको खर्च हुँदैन । घोडचढी नागरिक–सैनिक सम्बन्धका लागि पनि हो,” पाण्डे भन्छन् । भोलि घोडापालनको खर्च बेहोर्छु भनेर अरू कसैले सेनालाई घोडा पालिदिन निवेदन दियो भने उसले पनि पाउँछ भन्ने प्रश्नमा पाण्डेको जवाफ छ, “संघले अनुरोध गरे अरूले पनि पाउँछन् । हाम्रा सिपाहीले बाहिर प्रतिस्पर्धा गर्न सजिलो हुने भएपछि उनीहरूलाई अन्तर्राष्ट्रिय एक्स्पोजर हुन्छ भने संघको घोडा राखिदिनु के ठूलो कुरा भो र ?”
सैनिक प्रवक्ताले संघमार्फत अनुरोध आए सहकार्य हुने बताए पनि चौधरीको घोडा सेनाले पाल्नुमा संघको भूमिकै छैन । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको संघ राज्यकै निकाय भएकाले दुई सरकारी अंगबीच समन्वय हुनुलाई स्वाभाविक मान्न सकिएला । “तर तजबिजका भरमा सेनाजस्तो संवेनदनशील अंगले निजी घोडा पालिदिनु लाजमर्दो हो । सुरक्षाका हिसाबले पनि मिल्दैन,” जंगी अड्डाका एक सहायक रथी भन्छन् ।
सेनाभित्रका विकृति बढार्ने भनेर सुधार अभियानको घोषणा गरेका प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक इलाकाभित्रै प्रभावशाली व्यापारिक घरानाको घोडा पाल्ने अनैतिक कार्यलाई कसरी सल्टाउलान् रु
घोडेजात्रामा सधैँ एक्ला
बर्सेनि मनाइने घोडेजात्राको घोडचढी प्रतियोगितामा भाग लिन सैनिक क्याभलरी गणबाटै घोडा लिएर टुँडिखेल पुग्छन्, करण चौधरी । यद्यपि यस्ता प्रतियोगितामा भाग लिन भने सेनाले सर्वसाधारण, सशस्त्र प्रहरी, नेपाल प्रहरीजस्ता निकायलाई समेत अनुमति दिन्छ । सूचना जारी गरेर नै सबैलाई प्रतियोगितामा भाग लिन आह्वान गरिने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे बताउँछन् ।
यो प्रतियोगितामा समेत निजी तवरमा सामेल हुने चौधरी एक्ला प्रतियोगी हुन् । सन् २०१४ देखि नियमित रूपमा चौधरीले घोडेजात्राका दिन हुने घोडचढी प्रदर्शनीमा भाग लिँदै आएका छन् । “घोडचढीमा प्रतिस्पर्धा गर्ने गैरसैनिक कोही पनि हुँदैनन्,” चौधरी भन्छन्, “नेपाल घोडचढी संघले गर्ने प्रतियोगितामा पनि सेनाबाहेक अरूको सहभागिता खासै हुँदैन ।” आफूले २३ वर्षको उमेरदेखि घोडचढीको तालिम लिएको उनले बताए ।
नेपाल म्यागजिनको प्रिंट संस्करणमा ०६९ हुनुपर्नेमा ०६८ भएकोले भूलसुधारसहित सच्याइएको छ ।
No comments:
Post a Comment