Friday, November 15, 2019

​​​​​​​ मध्यस्थताको महाजाल

सर्वोच्चमा रिट लाग्ने अभ्यास चलेसँगै सरल हुनुपर्ने न्यायको बाटो झनै जटिल


सन् १९७२ मा नेपालमा पहिलोपटक पाइला टेक्दा स्वीस नागरिक वार्नर ब्लाजरले सायदै सोचेका थिए, कुनै दिन यही मुलुकको टेक्सटाइल उद्यमी बन्छु भनेर । यो पनि पक्कै सोचेका थिएनन्, यही उद्यमी बन्ने धुनले आफ्नो जीवनको उत्तरार्द्ध नेपालमा मुद्दा मामिलाको झमेलामा अल्झिनेछ भनेर । तर ७९ वर्षको वृद्धावस्थामा यी विदेशी प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहसँगको मुद्दाको फैसलाको पर्खाइमा २५ वर्षदेखि नेपालमै अल्झिरहेका छन् ।

खासमा टेक्सटाइल उद्योगको क्षमता विस्तार गर्ने योजना थियो, ब्लाजरको । सोचेजस्तो उद्योगको आकार त फैलिएन नै, उल्टो उद्योगको स्वामित्वबाटै ब्लाजर बाहिरिनु पर्‍यो । प्रजातन्त्रको स्थापनाकालदेखि ज्योति समूह र ब्लाजरको विवादित यात्रा सुरु हुन्छ । ०४६ मा ब्लाजर र ज्योति समूहबीच नेपालमा कपडा उद्योग चलाउन प्रविधि हस्तान्तरण सम्झौता भयो, पाँच वर्षका लागि । उद्योग विभागबाट स्वीकृत भई बाराको परवानीपुरमा स्थापना भएको उद्योगमा ब्लाजरले प्रविधि भित्र्याए । उद्योग चलिरहेकै थियो । तर १० असार ०४९ को सञ्चालक समितिको बैठकले काम सन्तोषजनक नभएको भन्दै सम्झौता भंग गरेको पत्र ब्लाजरलाई दियो । त्यसपछि उत्पन्न भएको विवाद टुंगिनु त परै जाओस्, अनेक उल्झन खेपिरहेछ ।


यो यस्तो मुद्दा हो, जुन अदालतकै भरथेगमा चलाखीपूर्वक लम्बाइएको छ । ज्ञातव्य रहोस्, व्यापारिक कारोबार, लगानी, निर्माणकार्य, विकास आयोजनाजस्ता विवाद चाँडो सल्टाउन मध्यस्थमार्फत फैसला गर्ने विश्वव्यापी चलन हो । तर नेपालमा भने मध्यस्थको अभ्यास ठीक उल्टो छ । त्यसैको एउटा उदाहरण मात्र हो, ज्योति समूह र ब्लाजरबीचको उल्झन ।

उद्योग विभागले ०५१ साउनमा आफ्नो प्रयासले विवाद पार नलागेको पत्र दिएपछि यो विषय मध्यस्थकहाँ पुग्यो । विभागले विवादबाट हात उठाएपछि ब्लाजरले करारविपरीत सम्झौता तोडेको भन्दै काठमाडौँ जिल्ला अदालतमा मध्यस्थमार्फत मुद्दा छिनोफानो गर्न निवेदन चढाए । ०५२ मा मध्यस्थ नियुक्त गरेर थालिएको समाधानको जड अझै पहिल्याउन सकेको छैन । बरु २५ वर्षको अवधिमा थुप्रैपटक मध्यस्थ, जिल्ला, पुनरावेदन (हाल उच्च) र सर्वोच्च अदालतमा चर्खा घुमेझैँ फन्को मारिरहेको छ ।(हेरौँ, इन्फो)

अवस्था कस्तो आएको छ भने जुन कम्पनीका लागि विवाद उब्जेको हो, उक्त कम्पनी अहिले अस्तित्वमै छैन । कम्पनीले लिक्वेडेटर नियुक्त गरेर मुद्दा लडिरहेको छ । ज्योति स्पिनिङ मिल्सको कारखाना रहेको परवानीपुरमा अहिले ज्योति समूहकै जय स्पिनिङ मिल्स चल्ने गरेको समूहको वेबसाइटमा उल्लेख छ । सन् २०१२ देखि त्यहाँ जय स्पिनिङ सञ्चालनमा छ ।


मुद्दाको माखेसाङ्लो
मध्यस्थ नियुक्तको माग गर्दै ब्लाजरले काठमाडौँ जिल्ला अदालतमा चढाएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुष्पबहादुर थापाको इजलासले ०५२ चैतमा दुवै पक्षबाट तीनरतीन जना मध्यस्थको मञ्जुरीसहितको नामावली दिन र त्यसमध्ये एकरएक जना मध्यस्थ १५ दिनभित्र नियुक्ति गर्न आदेश दियो । यो आदेश नमानी ज्योति समूह पुनरावेदन अदालत गयो । पुनरावेदनले जिल्लाकै निर्णय सदर गरिदियो । ज्योति समूहले फेरि रिटमार्फत सर्वोच्च गुहार्‍यो । सर्वोच्चले रिट खारेज गरिदिएपछि ब्लाजर मध्यस्थको खोजीमा काठमाडौँ अदालत पुगे ।

०५५ वैशाखमा जिल्ला अदालतले शम्भुप्रसाद ज्ञवालीलाई मध्यस्थ चुन्यो । तर ब्लाजर तीन सदस्यीय मध्यस्थ नियुक्ति हुनुपर्ने भनेर पुनरावेदन अदालत पुगे । पुनरावेदनले ब्लाजरको पक्षमा फैसला गरेपछि ज्योति समूह सर्वोच्च उक्लियो । सर्वोच्चले पुनरावेदनको निर्णय उल्टाएर जिल्ला अदालतको निर्णयमा सहमति जनाइदियो । त्यतिबेलासम्म मध्यस्थ ज्ञवालीको निधन भइसकेकाले फेरि नयाँ मध्यस्थ चयन गर्नुपर्ने भयो । २५ भदौ ०६० मा अधिवक्ता बलराम केसीले मध्यस्थका रूपमा काम थालेका मात्र थिए, एक वर्ष नपुग्दै सर्वोच्चको न्यायाधीश बनेपछि राजीनामा दिनुपर्‍यो । त्यसपछि मध्यस्थको जिम्मेवारी ०६१ साउनमा पूर्वन्यायाधीश हिरण्यश्वरमान प्रधानकहाँ पुग्यो । मंसिरमा प्रधानले हदम्याद नाघेका आधारमा ब्लाजरको क्षतिपूर्तिको दाबी नपुग्ने निर्णय सुनाए । मध्यस्थको निर्णयविरुद्ध ब्लाजर पुनरावेदन गए । पुनरावेदनले ०६२ पुसमा मध्यस्थको निर्णय त्रुटिपूर्ण देखाएर पुनः छिन्न भन्यो ।

ज्योति समूहले पुनरावेदनको निर्णयविरुद्ध सर्वोच्चमा रिट हाल्यो । सर्वोच्चले ०६५ भदौमा रिट खारेज गरिदिएपछि प्रधानले मध्यस्थबाट राजीनामा दिए र यो मामिला झन् अल्झियो । नयाँ मध्यस्थ नियुक्त गर्न अर्को दुई वर्ष लाग्यो । जिल्ला अदालतले कनकविक्रम थापालाई मध्यस्थ तोक्यो तर ६ महिनापछि नै आफू स्पिनिङ मिल्सको सेयर होल्डर भएको कारण देखाएर राजीनामा दिए ।

०६८ असारमा पुनः बलराम केसी मध्यस्थ बनेर आए, जतिबेला उनले न्यायाधीशबाट अवकाश पाइसकेका थिए । केसीले ०६९ जेठमा ज्योति समूहले ब्लाजरलाई दुई लाख २० हजार स्वीस फ्रैंक र १० प्रतिशत ब्याज भराउनुपर्ने निर्णय सुनाए । ब्लाजरले मागेभन्दा बढी रकम दिने फैसला त्रुटिपूर्ण रहेको भन्दै ज्योति समूह यस निर्णयविरुद्ध पुनरावेदन अदालत पुग्यो । पुनरावेदनले ०७० वैशाखमा हिसाबकिताबमा त्रुटि देखिएको भन्दै पुनः निर्णयमा पुग्नु भनेर मध्यस्थकहाँ फर्काइदियो । तर मध्यस्थले निर्णयादेश नसुनाउँदै ज्योति समूह रिटमार्फत सर्वोच्च पुग्यो । सर्वोच्चले पाँच वर्षपछि ०७५ असारमा मात्र रिट खारेजीको निर्णय सुनायो । यहीबीच ०७२ मा नयाँ संविधान जारी भएपछि पूर्वन्यायाधीशलाई मध्यस्थ बन्न नमिल्ने व्यवस्था राखियो र केसी उक्त मुद्दा प्रक्रियाबाट बाहिरिए ।

त्यसपछि ब्लाजरले विवाद टुंग्याउन अनुरोध गर्दै नेपाल मध्यस्थता परिषद्मा निवेदन दिए । परिषद् यस्ता विवादमा मध्यस्थ खोजिदिने नेपालको निजी संस्थागत निकाय हो । तर परिषद्ले २३ असार ०७६ मा कारण नदर्साई मध्यस्थ बस्न अस्वीकार गरेको पत्र थमायो । परिषद्ले आफ्नो कुनै पनि भूमिका नरहेको ब्लाजरलाई दिएको चिठीमा लेखिएको छ । मध्यस्थता परिषद्ले मुद्दामा चासो नदेखाउनु अर्थपूर्ण छ । त्यसपछि यो मुद्दा जिल्ला अदालतमै फर्किएर पुनः मध्यस्थ ढुकिरहेको छ । सर्वोच्च अदालतले यस्ता विवादहरू रिटको अधिकार क्षेत्रमा पर्ने नजिर १७ वर्षअघि नै बसालिदिएकाले अझै मुद्दा कहिले किनारा लाग्छ भन्ने अनुमानसम्म लगाउन मुस्किल छ ।

सर्वोच्चकै बदनियत
व्यापारिक कारोबार, ठूला विकास परियोजनामा निम्तिने विवाद नियमित अदालती प्रक्रियाबाट मुद्दामा जाँदा वर्षांै लाग्ने र त्यसले दुवै पक्षलाई आर्थिक हानि हुने हुँदा छिटोछरितो विवाद सल्टाउन मध्यस्थको अवधारणा जन्मिएको हो । दुवै पक्षले आ(आफूले रोजेको, पत्याएको विज्ञबाट विवाद समाधान गरिने भएकोले यसलाई व्यापारिक र ठूला कारोबारमा व्यावहारिक न्यायिक प्रणाली मानिन्छ । तर नेपालमा भने मध्यस्थको अभ्यास मर्म्विपरीत चलिरहेको छ । छिटो, छरितो र झन्झटरहित विवाद सुल्झाउनुपर्ने मध्यस्थको अभ्यास नियमित अदालतसरह झन्झटिलो बनाइँदै लगिएको छ ।

सर्वोच्च अदालतको आडमै शक्तिशालीहरूले मुद्दा अनन्त कालसम्म लम्बाउने प्रवृत्ति झाँगिएको छ । अर्थात् नियमित अदालती प्रक्रिया र मध्यस्थमार्फत छिनिने मुद्दाको समयावधि उस्तै मात्र होइन, अझ बढी हुने गरेका उदाहरण छन् । “मध्यस्थले गरेका निर्णय अन्तिम हुने विश्वव्यापी चलन हो,“ नेपाल मध्यस्थता परिषद्का अध्यक्ष वीरेन्द्रबहादुर देउजा भन्छन् “तर हाम्रोमा त एकैचोटि सर्वोच्च पुग्छ र तहगत अदालतहरूमा घुमिरहन्छन् । मध्यस्थको मर्मअनुसार कामै भएको छैन ।“

यस्तो मर्म भत्काउने निकाय सर्वोच्च अदालत स्वयं हो । कृषि सामग्री संस्थान र सुमित प्रकाश एसियाबीचको विवादमा सर्वोच्चले ०५९ मा गरेको फैसलाका कारण मध्यस्थमार्फत हुने निर्णय लम्बिने ढोका खोलेको मानिन्छ । संस्थान र एसियाबीच १९ साउन ०५२ मा १० हजार मेट्रिक टन युरिया मल आपूर्तिसम्बन्धी सम्झौता भएको थियो । एसियाले आपूर्ति नियमित गर्न नसकेपछि संस्थानले सम्झौता भंग गर्‍यो । त्यसपछि यो विवाद तीन सदस्यीय मध्यस्थकहाँ पुग्यो । मध्यस्थको बहुमतले संस्थानले प्रकाश एसियालाई एक लाख २५ हजार ९ सय ४५ अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने र बैंक ग्यारेन्टी जफत नहुने फैसला सुनायो, १३ कात्तिक ०५४ मा । मध्यस्थको निर्णयविरुद्ध संस्थानले पुनरावेदन अदालत गुहार्‍यो । पुनरावेदनले २ मंसिर ०५५ मा निवेदन खारेज गरिदिएपछि संस्थान सर्वोच्च पुग्यो रिटमार्फत । तर सर्वोच्चको इजलासमा मध्यस्थको निर्णय रिटको क्षेत्राधिकारमा पर्नेरनपर्ने विषयमा न्यायाधीशको राय बाझियो ।

फैसला पुनरावेदन वा दोहोर्‍याउने वैकल्पिक बाटो हुँदाहुँदै रिटमार्फत आएकोले खारेज हुने राय न्यायाधीश दिलीपकुमार पौडेलको थियो भने अर्का न्यायाधीश लक्ष्मणप्रसाद अर्यालले यो विषय रिट तहबाटै हेर्नुपर्ने राय दिए । राय जुधेपछि मुद्दा पूर्ण इजलासमा पुग्यो । १३ भदौ ०५९ मा सर्वोच्चको पूर्ण इजलासले अदालतको असाधारण अधिकार क्षेत्रअन्र्तगत रिट निवेदनभित्र प्रवेश गर्ने निर्णय सुनाइदियो । मीनबहादुर रायमाझी, अरविन्दनाथ आचार्य, हरिप्रसाद शर्मा, चन्द्रप्रसाद पराजुली र रामनगिना सिंहको बृहत् पूर्ण इजलासले रिट लाग्ने अनुमति दिएको हो । पुनरावलोकनको बाटोसमेत बन्द गरेर यो फैसला भएको थियो । बृहत् पूर्ण इजलासको फैसलाउपर पुनरावलोकन गर्न सकिँदैन । यो फैसला ०५९ को नेपाल कानुन पत्रिकामा प्रकाशित छ । कानुन पत्रिकामा प्रकाशित फैसला नजिर हो ।

त्यसपछि नै हो, मध्यस्थका फैसला सर्वोच्चमा रिटमार्फत धमाधम छिर्न थालेको । यस्ता रिटको उद्देश्य हुन्छ, हार्ने पक्षले मुद्दा लम्बाउने वा आफ्नो पक्षमा फैसला गराउने । मध्यस्थको विवाद रिटमार्फत सुनुवाइको अनुमति पाएपछि सर्वोच्चले संस्थान र एसियाबीचको यो मुद्दाको सुनुवाइ साइत ६ वर्षपछि मात्र आयो । ६ माघ ०६५ मा सर्वोच्चले मध्यस्थको निर्णय मात्रै त्रुटिपूर्ण ठहर्‍याएन, असाधारण क्षेत्राधिकारमार्फत रिट निवेदन दिने बाटो खोलिदिने सर्वोच्चकै कदममा समेत गम्भीर प्रश्न उठाइदियो ।

प्रतीतपत्र (एलसी) खोल्नेसम्बन्धी संस्थान र सुमित प्रकाश एसियाबीच भएको सम्झौताविपरीत मध्यस्थले निर्णय गरेको सर्वोच्चले औँल्यायो । मल आपूर्तिकर्ता कम्पनीले आफूले भनेको बैंकमा संस्थानले एलसी नखोलिदिँदा सम्झौताअनुसार सामान ढुवानी गर्न नसकेको भन्दै सम्झौता भंग भएको थियो । तर सम्झौतामा आपूर्तिकर्ताले तोकेको बैंकमा एलसी खोल्ने प्रावधान नै नभएकोले मध्यस्थको निर्णय त्रुटिपूर्ण रहेको टुंगोमा सर्वोच्च पुग्यो । साथै पर्फमेन्स बोन्ड जफत नगर्नु भन्ने मध्यस्थको निर्णयसमेत सम्झौता, करार कानुन र मध्यस्थ ऐनविपरीत भएको सर्वोच्चले ठहर्‍यायो । त्योभन्दा पनि महत्त्वपूर्ण पक्ष, रिट निवेदनमार्फत यस्ता विवाद सर्वोच्च छिराउनु न्यायालयको दुर्नियत भनेर व्याख्या गरिदियो । न्यायाधीशद्वय बलराम केसी र दामोदरप्रसाद शर्माको इजलासले यो फैसला गरेको हो ।

सर्वोच्चले असाधारण अधिकारक्षेत्रअन्र्तगत रिट निवेदन लाग्ने नजिर बसालिदिएपछि कम्तीमा पनि पाँच तहका अदालतमा सुनुवाइ हुनुपर्छ । जिल्ला वा उच्च अदालतले मध्यस्थ नियुक्त गरेपछि मध्यस्थ, उच्च अदालत, सर्वोच्चमा रिट, रिटउपर न्यायप्रशासन ऐनअनुसार पुनरावलोकनका लागि निवेदन गरी विवाद समाधान हुन पाँच तह पार गर्नुपर्छ । ’यस्तो व्यवस्थाले गर्दा मध्यस्थद्वारा विवाद समाधान गराउने र साधारण अदालतको ’लिटिगेसन’ मा फरक भएन । मध्यस्थको निर्णयउपर तीन तहका अदालतको सुनुवाइको व्यवस्थामा पुनर्विचार गर्नुपर्ने देखियो,’ ०५९ को सर्वोच्चको उक्त फैसलामा किटानसाथ भनिएको छ । यति झन्झटिलो र लामो न्याय सम्पादन प्रक्रियाले वैदेशिक लगानीलाई समेत निरुत्साहन गर्ने अदालतको ठहर छ ।

यसपछि त मध्यस्थले गरेका निर्णयविरुद्ध एकपछि अर्को रिटको लर्को सर्वोच्चमा लाग्न थालेको देखिन्छ । ओरिन्ड म्याग्नेसाइड र दामोदर रोपवेज एन्ड कन्स्ट्रक्सनको विवाद यही नजिरका आधारमा सर्वोच्चमा सवार भयो । दोलखाको लामोसाँघुदेखि खरीढुंगासम्म साढे १० किलोमिटर मोनोकेवल रोपवे बनाउन १४ जनवरी १९८३ मा म्याग्नेसाइड र दामोदर रोपवेजबीच ठेक्का सम्झौता भयो । सम्झौताबमोजिम दामोदर रोपवेजले मनासयपत्र जारी गरेको २५ महिनाभित्र निर्माण सकाएर ठेक्कादाता ओरिन्डलाई हस्तान्तरण गर्नुपर्ने थियो ।

यही सम्झौताका आधारमा नेपाल सरकार र दामोदर रोपवेजबीच आठ महिनापछि जमानी सम्झौता भयो । ठेक्का सम्झौताको अधीनमा रही ठेक्का रकममध्ये २५ लाख ८३ हजार ६ सय ४६ अमेरिकी डलरको जमानी नेपाल सरकार बसेको थियो । तर ठेकेदार र ठेक्कादाता कम्पनीबीच किचलो पैदा भयो । ठेकेदार कम्पनी दामोदर रोपवेले जमानी बस्ने नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने दाबी झिक्यो ।

त्यसपछि यो खिचलो मध्यस्थमार्फत टुंग्याउने सहमति बन्यो र १८ भदौ ०५४ को मध्यस्तको निर्णयानुसार सरकारले दामोदर रोपवेजलाई दाबीबमोजिम भुक्तानी दिनुपर्ने निर्णय सुनायो । निर्णयविरुद्ध सरकारले पुनरावेदन अदालत (हाल उच्च) पाटनमा पुनरावलोकन गर्‍यो । पुनरावेदनले समेत मध्यस्थकै निर्णय सदर गरिदिएपछि सरकार रिटमार्फत सर्वोच्च पुग्यो । सर्वोच्चले मध्यस्थको निर्णय करार सम्झौताविपरीत देखिएको भन्दै खारेज गरिदियो र पुनः चाहेमा मध्यस्थमार्फत समाधान खोज्न भन्यो ।

रिट अस्त्रको लामो प्रयास
मध्यस्थको निर्णयविरुद्ध रिट लाग्ने बनाउने प्रयास लामो समयदेखि भएको न्यायिक इतिहास पल्टाउँदा थाहा लाग्छ । रिट सुनुवाइको अनेक प्रयास भएको भेटिन्छ । ०५१ मै नेपाल राष्ट्र बैंक र विजय कन्स्ट्रक्सन कम्पनीबीचको मध्यस्थको निर्णय रिटमार्फत सर्वोच्च छिर्ने जमर्को गरेको थियो । राष्ट्र बैंकका गभर्नर हरिशंकर त्रिपाठी र विजय कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्रमान शेरचनको यो मुद्दा ११ मंसिर ०५२ मा सर्वोच्चको संयुक्त इजलासले दोहोर्‍याउने निस्सा मात्र दिएको थियो ।

०५६ मा अर्को विवाद फेरि रिटमार्फत सर्वोच्च भित्रिन खोज्यो । दी ब्रिजलाइन कर्पोरेसनका अमरशमशेर जबरा र पुनरावेदन अदालत पाटनबीचको विवादमा मध्यस्थले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट पर्‍यो । तर सर्वोच्चले मुद्दा दोहोर्‍याउने वैकल्पिक बाटो छोडेर रिटमा आएको भन्दै खारेज गरिदियो, १६ साउन ०५८ मा ।

यसको एक वर्षपछि कृषि सामग्री संस्थान र सुमित प्रकाश एसियाबीचको विवाद प्रकरणमा सर्वोच्चले रिटको मार्ग खोलिदिएपछि नै हो, पुनरावेदनले मध्यस्थकहाँ पुनः निर्णय गर्न पठाएको आदेशविरुद्ध ज्योति समूह सर्वोच्चमा रिट लिएर गएको । यही रिटमार्फत ज्योति समूहले पाँच वर्ष मुद्दा तन्काइदियो र अहिले जिल्ला अदालतमा मध्यस्थ नियुक्तिको प्रक्रियामा छ । अर्थात् विवाद उब्जिएको डेढ दशक कट्दा पनि मुद्दाको सुरु चरणमै छ ।

दुई वा बहुपक्षीय सम्झौतामा मध्यस्थको संख्या तोकिएको भए सोहीअनुसार र नतोकिएको भए तीन जनाको हुने मध्यस्थ ऐन, ०५५ मा व्यवस्था छ । दुवै पक्षबाट एकएक मध्यस्थ नियुक्त हुने र दुवैले छानेको तेस्रो व्यक्ति संयोजक तोकिनेछ । सम्झौताबमोजिम मध्यस्थ नियुक्त हुन नसकेमा उच्च अदालतमा यसका लागि आवेदन दिइन्छ र आपसी सहमतिमा नियुक्त हुन नसकेमा अद्दालतले ६० दिनभित्र मध्यस्थ नियुक्त गर्ने प्रावधान छ ।

नियमित अदालतमा मुद्दा छिन्ने न्यायाधीशहरू व्यापारिक कारोबारसँग उति परिचित नहुन सक्ने भएकाले समेत विषयविज्ञहरूलाई मध्यस्थ तोकेर गरिने वैकल्पिक न्यायको बाटो प्रभावकारी मानिन्छ, संसारभर । तर नेपालमा भने सरल हुनुपर्ने न्यायको यो बाटो झनै जटिल बन्दै गएको छ, सर्वोच्चमा रिट लाग्ने अभ्यास चलेसँगै । सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीका अनुसार पुनरावेदनरउच्च अदालतले मध्यस्थको निर्णयमाथि कानुनी नापजाँच गरेर त्रुटिपूर्ण पाएमा पुनः निर्णयार्थ मध्यस्थ कहाँ नै पठाउन सक्छ तर आफैँले निर्णय गर्न सक्दैन । “तर हामीकहाँ सर्वोच्चसम्म रिट लाग्ने गलत अभ्यास भएको छ,“ उनी भन्छन्, “यसलाई नसच्याउने हो भने मध्यस्थको व्यवस्था खारेज गरेर नियमित अदालतबाटै यस्ता विवाद सल्टाउने भनिदिनुपर्छ ।“

नियमनकारी कि कार्यकारी ?

मध्यस्थका फैसला, आचरणउपर नियमन गर्ने निकाय नै छैन, नेपालमा । ०४८ मा नेपाल मध्यस्थता परिषद् स्थापना भए पनि यसलाई नियमनकारी स्वायत्त निकायका रूपमा विकास गरिएन । बरु संस्थागत रूपमा यसले विवादका पक्षविपक्षलाई मध्यस्थ खोजिदिने कार्यकारी भूमिका निर्वाह गर्दै आएको छ । मध्यस्थका कामकारबाही मिलेरनमिलेको, उनीहरूका आचरण ठीक भएरनभएको नियमन गर्ने निकाय नै छैन ।

जसरी न्यायाधीशका फैसला, आचरणउपर न्यायपरिषद्ले, चिकित्सकहरूको कामकारबाहीबारे मेडिकल परिषद्ले, वकिलहरूको कामकारबाही बार काउन्सिलले नियमन गर्छ, मध्यस्थको निर्णयउपर कसैले निगरानी राख्दैन । यसले मध्यस्थका निर्णय स्वेच्छाचारी हुने खतरा बढी छ । यसै पनि सरकारी निकाय र ठेकेदारबीच हुने विवादमा धेरैजसो मुद्दा ठेकेदारको पक्षमा निर्णय हुने गरेका तथ्यांक छन् ।

०७१ देखि ०७५ सम्मको अवधिमा सडक विभागअन्र्तगत ठेक्का लागेका ५३ वटा आयोजनाका विवाद मध्यस्थता परिषद्मा पुग्दा ३५ विवाद ठेकेदारको पक्षमा र ६ वटा सरकार पक्षमा निर्णय भएको देखिन्छ । यसको मतलब सरकारको पक्षमा मात्रै निर्णय हुनुपर्छ भन्ने होइन । तर यसले मध्यस्थको तटस्थ भूमिकामाथि भने प्रश्न उठाउन सकिन्छ । मध्यस्थको योग्यताबारे कुनै मापदण्ड छैन । “जो पनि मध्यस्थ बस्न पाउने प्रावधान नै बेठीक छ,“ वरिष्ठ अधिवक्ता हरि उप्रेती भन्छन्, “राज्यले काम दिएपछि उनीहरूको योग्यताका आधार समेत तोकिदिनुपर्ने हो । त्यस आधारमा उनीहरूका कामकारबाही नियमन हुनुपर्छ । कसैको निगरानी नहुँदा निर्णयमा त्यसको असर देखिन सक्छ । मेरो काम कसैले त हेर्दै छ भन्ने त हुनुपर्‍यो नि ।“

एकातिर मध्यस्थका व्यवहार निस्फिक्री चलिरहेका छन् भने अर्को्तिर मध्यस्थका निर्णयउपर विश्वव्यापी मान्यताविपरीत नियमित अदालती प्रक्रियामा अल्झिरहेका छन् । यस्तो उल्टो अभ्यासले मध्यस्थ प्रणाली न्यायको वैकल्पिक पद्धति नभई माखेसाङ्लो बन्ने देखिन्छ ।       

प्रकाशित ः आश्विन २८, २०७६


No comments:

Post a Comment