सन् १९७२ मा नेपालमा पहिलोपटक पाइला टेक्दा स्वीस नागरिक वार्नर ब्लाजरले सायदै सोचेका थिए, कुनै दिन यही मुलुकको टेक्सटाइल उद्यमी बन्छु भनेर । यो पनि पक्कै सोचेका थिएनन्, यही उद्यमी बन्ने धुनले आफ्नो जीवनको उत्तरार्द्ध नेपालमा मुद्दा मामिलाको झमेलामा अल्झिनेछ भनेर । तर ७९ वर्षको वृद्धावस्थामा यी विदेशी प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहसँगको मुद्दाको फैसलाको पर्खाइमा २५ वर्षदेखि नेपालमै अल्झिरहेका छन् ।
खासमा टेक्सटाइल उद्योगको क्षमता विस्तार गर्ने योजना थियो, ब्लाजरको । सोचेजस्तो उद्योगको आकार त फैलिएन नै, उल्टो उद्योगको स्वामित्वबाटै ब्लाजर बाहिरिनु पर्यो । प्रजातन्त्रको स्थापनाकालदेखि ज्योति समूह र ब्लाजरको विवादित यात्रा सुरु हुन्छ । ०४६ मा ब्लाजर र ज्योति समूहबीच नेपालमा कपडा उद्योग चलाउन प्रविधि हस्तान्तरण सम्झौता भयो, पाँच वर्षका लागि । उद्योग विभागबाट स्वीकृत भई बाराको परवानीपुरमा स्थापना भएको उद्योगमा ब्लाजरले प्रविधि भित्र्याए । उद्योग चलिरहेकै थियो । तर १० असार ०४९ को सञ्चालक समितिको बैठकले काम सन्तोषजनक नभएको भन्दै सम्झौता भंग गरेको पत्र ब्लाजरलाई दियो । त्यसपछि उत्पन्न भएको विवाद टुंगिनु त परै जाओस्, अनेक उल्झन खेपिरहेछ ।
