कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरको उत्तरी मोहडामा एकदमै भिन्न शैलीको आकर्षक भवन उभिएको छ । एकैछिन भए पनि यो भवनको भव्यता टक्क अडिएर ननियाल्ने कमै हुन्छन् । त्रिविको स्वायत्त निकाय आर्थिक विकास तथा प्रशासनिक के न्द्र -सेडा)को भवन साँच्चै सुन्दर छ । तहतह परेको भिरालो छाना, पछाडिबाट सिलिन्डर उठेको, हरिसिद्धि इँटाले मोडिएको । त्रिविका भवनहरूबीच 'युनिक' देखिने यसको डिजाइनसँग नलोभिने को होला ?
यो भवनको डिजाइन गरेका हुन्, विश्वप्रसिद्ध वास्तुकार कार्ल प्रुस्चाले । नेपालमा विश्वकै विख्यात आर्किटेक्टका कलाकृति पनि स्मरणीय बनेर उभिएका छन्, त्यसैमध्ये एक वैभवशाली भवन हो, सेडा । सहरी योजनाविद्समेत रहेका अस्टि्रयन नागरिक प्रुस्चाले सन् '६० को दशकमा यो भवन डिजाइन गरेका थिए । सन् १९६४ मा काठमाडौँ उपत्यकाको सहरी विकास योजना बनाउन बोलाइएका प्रुस्चा नेपालको वास्तुकलामा समेत आफ्नो सुन्दर सिर्जना खिपेर बाहिरिए ।
त्यसअघि प्रुस्चा संसारमा औसत आर्किटेक्टका रूपमा गनिन्थे । तर, सेडा भवनले उनलाई स्थापित गरायो । "उनले आर्किटेक्टका रूपमा प्रसिद्धि पाएका थिएनन्," त्रिवि, पुल्चोक इन्जिनियरिङ क्याम्पसका आर्किटेक्चरका प्राध्यापक सुदर्शनराज तिवारी भन्छन्, "सेडा भवन बनाएपछि भने आर्किटेक्टका रूपमा विश्वप्रख्यात भए ।"
यसको प्रमुख विशेषता भनेकै भिरालो जमिनमा भवन बनाउँदा पनि भू-बनोटलाई नबिगारी र नसम्याई नेपाली शैलीको संरचना बन्नु हो । जसलाई भवन तथा निर्माण विभागका पूर्वउपमहानिर्देशक एवं आर्किटेक्ट भरत शर्मा 'अग्र्यानिक वास्तुकला' भनी टिप्पणी गर्छन् । "अधिकांशले एउटा बनाउँदा अर्कोलाई बिगार्छन्," उनी भन्छन्, "तर, यो भवनमा जमिनको सक्कली स्वरूपलाई यथास्थितिमा राखिएको छ ।"
सेडा भवनमा आधुनिक प्रविधि र सामान प्रयोग भए पनि स्वरूप कलात्मक छ । कंक्रिट र स्टिलका बिम तथा पिलरलाई इँटाले छोपेर नेपालीपन दिइएको छ । "छाना पनि सम्म परेको छ, जुन आधुनिक भवनको विशेषता हो । तर, प्रुस्चाले इँटाको पर्खाल यसरी डिजाइन गरिदिए कि त्यसले गर्दा भवनको छानोसमेत परम्परागत नेपाली शैलीको देखिन्छ," प्रा तिवारी भन्छन् ।
प्रुस्चाले इँटाको कलात्मक प्रयोग गरेर काठमाडौँको बौद्धस्थित तारागाउँ रिजेन्सी -हाल हायात रिजेन्सी होटल)को डिजाइनसमेत गरेका थिए । उनले तारागाउँका भवन गोलो गोलो आकारमा आकर्षक डिजाइन गरेका थिए । उनले नै श्रीलंकामा वान वल्र्ड फाउन्डेसन स्कुलको डिजाइन गरेका हुन् । त्यस्तै अस्टि्रयाको होली घोस्ट चर्च र श्रीलंकाकै लगुन बंगला पनि उनका उत्कृष्ट डिजाइन हुन् ।
अर्का विश्वविख्यात आर्किटेक्ट लुइस आई कानले समेत नेपालमा आफ्नो वास्तुकलाको सम्झना छाडेर गएका छन् । उनी २०औँ शताब्दीका प्रभावशाली आर्किटेक्ट थिए । अहिले स्वास्थ्य मन्त्रालय रहेको भवन सन् '८० को दशकमा कानले डिजाइन गरेका हुन् । ०५२ सालमा राधाकृष्ण मैनाली स्वास्थ्यमन्त्री छँदा कानले डिजाइन गरेको भवनमा टिनको छानो हाल्दा ठूलो विवाद भएको थियो । "टिनको छानो थपिदिँदा विख्यात कलाकारको कला लंगडो भएको छ," उक्त कार्यको विरोधमा सक्रिय रहेका आर्किटेक्ट शर्मा भन्छन्, "इतिहास र कलाजस्ता सम्पत्ति बिगार्ने काम भयो । विश्वमै उनका कलाको संरक्षण भइरहे पनि नेपालमा त्यसको मर्म कसैलै बुझेनन् ।"
तिवारीका अनुसार उनी नेपाल आउँदा संसारभर उनको ख्याति फैलिसकेको थियो । "हामीले बोलाउँदा सजिलै आउने र हामीले पैसा तिर्न सक्ने व्यक्ति नै होइनन् उनी । अमेरिकी परियोजना भएकाले आएका हुन्," उनले भने, "तर, नेपाली कला र संस्कृति झल्कने भव्य भवनको उनको योजना अलपत्र भयो ।" अहिले स्वास्थ्य मन्त्रालय रहेको भवन कानको डिजाइनको पछिल्लो भाग मात्र हो । त्यसभन्दा अगाडि मुख्य भवन बनाएर पुलले जोड्ने गरी डिजाइन भएको थियो । "स्वास्थ्य मन्त्रालयलाई हेर्दा तलदेखि माथिसम्म ठूल्ठूला झ्याल छन् । मुख्य भवन नबनेकाले मात्र त्यो असुहाउँदिलो देखिएको हो," विज्ञान तथा प्रविधि प्रतिष्ठान -नास्ट)का उपकुलपति प्रा जीवराज पोखरेल भन्छन् । कानका डिजाइन स्मारकीय महत्त्व बोक्ने खालका हुन्छन् ।
अर्का प्रख्यात जापानी आर्किटेक्ट टाडाओ आन्डोले बुटवलस्थित सिद्धार्थ चिल्ड्रेन एन्ड वुमन अस्पताल -आम्दा)को भवन डिजाइन गरेका हुन् । आन्डो आर्किटेक्चरमा नोबल पुरस्कार मानिने पि्रट्ज्कर आर्किटेक्चर अवार्ड पाएका वास्तुकार हुन् । सन् १९९५ मा उनले यो पुरस्कार जितेका हुन् । आन्डो अस्पताल डिजाइनका लागि भने नेपाल आएका थिएनन् । "उनले जापानमै बसेर डिजाइन तयार पारेका थिए," आन्डोको काममा संलग्न नेपाली आर्किटेक्ट तथा पूर्वसचिव किशोर थापा भन्छन् ।
आम्दा अस्पतालको बोर्ड हटाइदिने हो भने बाहिरबाट हेर्दा पर्खाल मात्रै देखिन्छ र भित्र छिरेपछि अस्पताल रहेको थाहा हुन्छ । अस्पताल आयाताकारमा बनेको छ । आन्डोका डिजाइन ज्यामितीय आधारमा प्रभावशाली मानिन्छन् । उनी भवन डिजाइनमा खाली ठाउ ँको प्रयोग गरेर आकर्षक डिजाइन निकाल्छन् । खाली ठाउँको प्रयोगले अस्पतालभित्रै ठाउँठाउँमा चोकजस्ता स्थान देखिन्छन् । "यो सबै खुला ठाउँकै कारण हो," थापा भन्छन् ।
आन्डोले मूलतः खुला कंक्रिटका माध्यमबाट भवन डिजाइन गर्ने भए पनि यो अस्पतालमा उनले खुला इँटा -एक्स्पोज बि्रक्स)को प्रयोग गरेका छन्, जुन नेपालीपन झल्कने तत्त्वको प्रतिनिधि हो । "राम्रो आर्किटेक्टले बनाएको भवनले मानिसको आनीबानी र सोच बदलिदिन्छ । आन्डोका संरचनाले पनि मानिसलाई स्वतः अनुशासनमा बाँधिदिन्छ," तिवारी भन्छन्, "उनले बनाएका भवनमा हिँड्दा निस्कने ध्वनिले नै सजक गराइदिन्छ ।" आन्डोलाई जापानमा 'लिभिङ हेरिटेज'को उपमासमेत दिइएको छ ।
००७ सालको परिवर्तनपछि आधुनिक शैलीका निर्माण तथा विकास हुन थालेसँगै विदेशी विकासे सहयोग परियोजनाहरू आउन थाले । यस्ता परियोजनाका लागि प्रविधि सहयोग सम्बन्धित देशबाट भित्रिँदा बाहिरिया आर्किटेक्टहरू नेपाल आउन थालेका हुन् । प्रुस्चा, कान, आन्डोजस्ता विख्यात आर्किटेक्टका कला यही क्रममा नेपालमा चिनो बन्न पुगेका हुन् ।
यीबाहेक भारतमा प्रख्यात अच्युत कान्बिन्देले चितवनस्थित रामपुर कृषि क्याम्पसको पुस्तकालय भवन डिजाइन गरे, ०३६ सालमा । कान्बिन्देले भारतको इन्डियन इन्स्िटच्युट अफ टेक्नोलोजी, कानपुरको पुस्तकालय, दिल्लीको नेसनल साइन्स सेन्टर आदिका प्रख्यात भवनका डिजाइन तयार पारेका हुन् । कान्बिन्देको दिल्लीमा कान्बिन्दे राय एन्ड चौधरी नामक आर्किटेक्चर कम्पनी सञ्चालनमा छ । रामपुर कृषि क्याम्पसको पुस्तकालय भवन नेपालकै उत्कृष्ट पुस्तकालय भवन मानिन्छ । "प्रकाश, खाली स्थान सबै हिसाबले यो पुस्तकालय राम्रो छ," आर्किटेक्ट शर्मा भन्छन् ।
नारायणहिटी दरबार संग्रहालयको नयाँ डिजाइन अमेरिकी मूलका बेन्जामिन पोकले तयार गरेका हुन् । राजा महेन्द्रले उनलाई भारतको सिक्किममा भेटेपछि नेपाल बोलाएर दरबारको डिजाइन गर्न लगाएका थिए । उनले भारतको बुद्धिस्ट टि्रपिटक पुस्तकालय, जलियानवालाबाघ मेमोरियलजस्ता भवनको डिजाइन गरेको टाइम्स अफ इन्डियाले लेखेको छ । त्रिवि केन्द्रीय शिक्षा विभागको भवन पनि भारतीय हबिब रहमानले डिजाइन गरेका हुन् । पानी परेको बखतमा नभिजीकन भवनको जुनसुकै स्थानमा डुल्न सकिने गरी यो भवन डिजाइन गरिएको छ ।
नेपालमै बसेर आर्किटेक्ट डिजाइन गर्ने विदेशीमा रोबर्ट वाइजे हुन् । उनी सन् १९५७ मा स्विस फरवार्ड मिसनमा नेपाल आएका थिए । नेपाललाई कर्मथलो बनाएर सन् १९९६ मा नेपालमै बितेका उनले त्रिवि परिसरको गुरुयोजना, अन्नपूर्ण होटल, होटल यल्लो प्यागोडा र नेपाली सेनाको मुख्यालय डिजाइन गरेका थिए । उनले थुप्रै नेपालीका निजी घरसमेत डिजाइन गरेको उनीद्वारा स्थापित वाइजे कन्सल्टेन्सी एन्ड आर्किटेक्टर एन्ड इन्जिनियरिङमा काम गरेका युवा आर्किटेक्ट मिलन बगाले बताउँछन् । उक्त कम्पनी अहिले रोबर्टका छोरा काई वाइजेले चलाउँछन् ।
नेपाली वास्तुकलाका जननी मानिने अरनिकोका सिर्जना नेपालमा छैनन्, उनका सिर्जना अवलोकन गर्न चीन नै पुग्नुपर्छ । तर, विश्वमा कहलिएका वास्तुकारहरूको कलाकृति भने नेपालले पाएको छ । यी सिर्जनाले नेपालको मौलिक कला, संस्कृतिलाई समेत उत्तिकै महत्त्व दिएको वास्तुविद्हरू बताउँछन् । प्रा तिवारी भन्छन्, "इँटा र छायाँको सम्मिश्रणबाट आकृति निस्कनु हाम्रो मौलिकता हो । यी चीज विदेशी आर्किटेक्टले यहाँ बनाएका राम्रा डिजाइनमा भेटिन्छन् ।" सेडाको भवनलाई त सोसाइटी अफ नेपलिज आकिर् टेक्टले नेपालको उल्लेखनीय डिजाइनमा राखेको छ ।
No comments:
Post a Comment