कालापानीको नेपाली भूमि भारतीय कब्जामा पुगेको कुरा राष्ट्रिय राजनीतिमा चर्कोसँग उठे पनि त्यहाँ बाँचिरहेका नागरिकको दैनिक व्यथाले भने विरलै ठाउँ पाउँछ
३ जेष्ठ २०७७
 |
| ३ जेष्ठ २०७७ ब्यास गाउँपालिका १ स्थित कालापानीमा अतिक्रमण गरी भारतले बनाएको सैनिक बंकर । वर, लिपुखोलाको मोटररेबल पुल । मनोज बडू |
जाडो छिप्पिन थालेपछि सधैझैं कात्तिकमै सपरिवार सदरमुकाम खलंगा ओर्लिए, दार्चुला छाङरुका अशोक सिंह बोहरा । बोहरामात्र होइन चिसो छल्न वर्षेनी यसरी तल्लो भेगमा सर्लक्कै उठेर छाङरु र टिंकर गाउँ बसाई हिँड्छ, ६ महिनाका लागि ।
वडा अध्यक्षसमेत रहेका बोहरासहितका गाउँले गत सालजस्तो हुन्थ्यो भने चैतको अन्तिमदेखि वैशाखको पहिलो हप्तासम्म आफ्नै थातथलो फर्किएर खेतपाती, बन्दव्यापार र पशुपालनमा भुलिसकेका हुन्थे । तर यसपाली उनीहरु सदरमुकाममै गाउँ उक्लने दिन पर्खिरहेका छन् ।
कोभिड–१९ भाइरस संक्रमणका कारण नेपाल–भारत नाका बन्द भएपछि छाङरु र टिंकरका बासिन्दा खलंगामै थुनिएका हुन् । व्यास गाउँपालिका वडा नम्बर १ को यी दुई गाउँमा १ हजार २ सय ३० जनसंख्या छ । त्यसमध्ये कतिपय काठमाडौं, भारत र सदरमुकाममै बस्छन् । ४ सयभन्दा धेरै भने उपल्लो थलो उक्लिने आशामा छन् । तर, भारतीय र चिनियाँ सीमावर्ती यी दुई गाउँ पुग्न भारतीय भूमि भएर जानुपर्छ ।